पेनाल्टीमा एम्बाप्पेकाे गाेलले पुर्यायाे फ्रान्सलाइ क्वाटर फाइनलमा, पाराग्वे पराजित

मूलखबर संवाददाता
काठमाडौं, २१ असार

एमबापेले पेनाल्टीबाट निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ मा आइतबार पाराग्वेमाथि १–० को जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा पाराग्वेले तेर्साएको बलियो चुनौतीसामु एमबापले खेलको ७० औ मिनेटमा गोल गरेका हुन् ।

पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मद्दतले पेनाल्टीको निर्णय दिइएको थियो र यसैक्रममा एमबापले विश्वकपमा आफ्नो १९ औं गोल गरे । दोस्रो हाफको अन्त्यतिर एमबापे थप गोल गर्न चुके । उनले गरेका दुई प्रहारलाई पाराग्वेली गोलरक्षक ओरलान्डो गिलले उत्कृष्ट बचाउ गरेका थिए ।

फ्रान्स विश्वकपको क्वाटरफाइनल पुगेको यो लगातार चौथो पल्ट हो । हारपछि दक्षिण अमेरिकी टिम अब घर फर्किनेछ । अब फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । यसअघि मोरक्कोले क्यानाडालाई हराएको थियो ।