राष्ट्रिय सभामा सांसदले राखे सरकारसँग यस्ता माग
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । उहाँहरुले मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गर्नुभयो ।
सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुग्लिन–नारायणगढ–काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिनाइ हुने गरेको गर्नुभयो । उहाँले बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डिएपी महँगो मूल्यमा खरिद गरेको हो कि ? भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गर्नुभयो ।
सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । सांसद सुरेशकुमार आले मगरले सरकारले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै आजको बैठकमा आफूले कुनै जिज्ञासा नराखेको बताउनुभयो ।




