१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपालाई स्पष्टीकरण
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा याथाशीघ्र विस्तृत जानकारी दिन अनुरोध गरेको छ ।
आयोगले बुधबार एक पत्र सार्वजनिक गर्दै रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनि आयोगमा प्राप्त जानकारी तथा विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ ।
पत्रमा भनिएको छ-बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनि प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरित हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार अनुरोध छ ।’




