ठूला वाम पार्टीका नेता एकै मञ्चमा आउँदै, होला त नेकपा र एमालेबीच सहकार्य ?

मूलखबर संवाददाता
काठमाडौं, १४ असार ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पुनः कार्यगत एकता हुन सक्ने बताएको केही दिनपछी आज काठमाडौंमा एमाले अध्यक्ष केपी ओीसँगै एउटै मञ्चमा उनीहरु देखीने भएका छन् ।

विगतमा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको केही वर्षपछि प्रचण्डले फेरि सहकार्यको सम्भावना औंल्याएका बेला हुन लागेको आजको कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रचण्डको भनाइले नेपाली वाम राजनीतिमा नयाँ बहस सुरु गरेको छ। २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो। तर नेतृत्व, शक्ति सन्तुलन र राजनीतिक विवादका कारण पार्टी लामो समय टिक्न सकेन। सर्वोच्च अदालतको फैसलापछि नेकपा विभाजित भई दुवै दल आ–आफ्नै अस्तित्वमा फर्किएका थिए।

त्यसपछि विभिन्न राजनीतिक मुद्दामा एमाले र माओवादी केन्द्र फरक–फरक गठबन्धनमा सक्रिय रहँदै आएका छन्। यद्यपि संसद्, संविधान कार्यान्वयन, सुशासन तथा राष्ट्रिय हितका विषयमा वाम शक्तिबीच सहकार्य आवश्यक रहेको तर्क बेला–बेलामा उठ्दै आएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार तत्काल पार्टी एकता सम्भव नदेखिए पनि कार्यगत एकताको प्रस्तावलाई अस्वाभाविक मान्न सकिँदैन। संसद्भित्र साझा मुद्दामा सहकार्य, वाम मतदाताको अपेक्षा सम्बोधन तथा राजनीतिक स्थिरताका लागि सीमित विषयमा सहकार्य उपयोगी हुन सक्ने उनीहरूको भनाइ छ।

तर विगतको एकताको अनुभव, आपसी अविश्वास र नेतृत्वबीचको प्रतिस्पर्धालाई हेर्दा कार्यगत एकता पनि सहज नहुने आकलन गरिएको छ। आलोचकहरू भने बारम्बार हुने एकता र विभाजनका अभ्यासले कार्यकर्ता तथा मतदातामा अन्योल सिर्जना गर्ने बताउँछन्।

प्रचण्डको पछिल्लो अभिव्यक्तिले वाम राजनीतिमा नयाँ समीकरणको सम्भावना संकेत गरे पनि यसको प्रभाव आगामी राजनीतिक घटनाक्रम र दलहरूबीचको विश्वास निर्माणमा निर्भर रहने देखिन्छ। तत्काल पूर्ण एकताको सम्भावना कमजोर भए पनि साझा मुद्दामा सहकार्यको वातावरण बन्ने संकेत भने देखिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण मानिएको छ ।
मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ ।

यसअघि १२ असारमा विराटनगरको एक कार्यक्रममा प्रचण्डले निरन्तरतामा क्रमभंगता हुन लागेको भन्दै ‘समाजवादी मोर्चामा भएकाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ हुन लागेको अभिव्यक्ति दिएका कारण पनि आजको कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।