खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाखकाे आम्दानी

मूलखबर संवाददाता
पर्वत, १३ असार

रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको हो ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ । उहाँले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिनुभयो । “गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ”, उहाँले भन्नुभयो ।

पछिल्लो पटक रु १५ लाख लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थाल्नुभएका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले दूध बिक्रीबाट वार्षिक रु २४ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।

उहाँले दानापानी, घाँस, परालका लागि मासिक रु ६० हजार खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक रु १७ लाखदेखि रु १८ लाखसम्म बचत गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ ।

सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम रु ९६ देखि रु ११० सम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गर्नुभयो । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उहाँको भनाइ छ । “नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु”, उहाँले भन्नुभयो ।

जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उहाँको अनुभव छ ।

जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताउनुभयो । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उहाँले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गर्नुभयो ।

भनेजस्तो कमाई भएपछि जिसी हौसिनुभएको छ । उहाँले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाउनुभएको छ । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभँैसीको सङ्ख्या २० पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

यसबाहेक दूध ढुवानीमा प्रतिलिटर रु पाँच अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताउनुभयो । उहाँले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिनुभयो ।- रासस