लभ्लिडाँडामा जिप दुर्घटना, १ काे मृत्यु, १७ घाइते

मूलखबर संवाददाता
स्याङ्जा, १२ असार

स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाकोट सडक खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा.ए. ७९०५ नम्बरको जिप अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार कुल १८ जनामध्ये घाइते भएका अन्य १२ जनालाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । पोखरा पठाइएका घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटना लगत्तै वालिङ–७ बस्ने २८ वर्षीय जिप चालक मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य घाइते भएका चालक सारूको समेत प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।