रास्वपाकाे महाधिवेशन आजदेखी, जालान् त संसदमा नजाने प्रधानमन्त्री बालेन ?

मूलखबर संवाददाता
चितवन, ७ असार

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे पहिलो महाधिवेशन आजबाट चितवनकाे भरतपुरमा शुरू हुँदैछ । रास्वपाले उद्घाटनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन साहले एकसाथ गर्ने जनाएको छ । तर बालेन जाने विषयमा अझै शंका गरिएको छ ।

रास्वपाले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको छ ।

एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन् ।

अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन । विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् ।

प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।

५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न पाउने

यस्तै, विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ ।

बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल जारी छ ।

अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति सदस्य चयन हुनेछन् ।

पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।