नेपालमा मनसुन प्रवेश, कति पर्ला पानी ?

मूलखबर संवाददाता
काठमाडौं, ६ असार

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेको छ । नेपालमा नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ । यस वर्ष ६ दिन ढिलो मनसुन प्रवेश गरेको हो ।

मौसमविद् अशोक बर्खेललेका अनुसार विभागले जुन २० को आसपासमा मनसुन भित्रिने संकेत रहेको प्रक्षेपण गरेको थियो । उहाँले एलनिनो प्रभावका कारण मनसुन ढिलो प्रवेश हुने गरेको बताउनुभयो ।

एलनिनो के हो ?

हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा प्रभाव परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो सामान्यतया पूर्वबाट भित्रिएर पश्चिमतिर सर्दै जान्छ । इस्टर्लि विन्ड (पूर्वबाट आउने हावा) भूमध्ये रेखातिरबाट एकदम ठुलो मात्रामा बहन्छ । प्रशान्त महासागर हुँदै आइरहेको हुन्छ र त्यो हावा चाहिँ यो वर्ष कमजोर भएको छ ।”

कति पर्छ पानी ?

यस वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६६ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग, गण्डकी प्रदेशका पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणी भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

बर्खेलका अनुसार सामान्यतया मनसुनको समयमा १३ सय ८२ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष यसको ९० प्रतिशतभन्दा थोरै पानी पर्ने पूर्वानुमान छ ।