अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर, के छ १४-बुँदे सहमतिमा ?

मूलखबर संवाददाता
काठमाडौं, ४ असार

अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। र, यो तत्काल लागु भएको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनमा भाग लिँदै नेपाली समयअनुसार बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन्।

त्यसपछि इरानका राष्ट्रपति पेजेस्कियानले इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ।

यो १४-बुँदे सम्झौतालाई मेमोर्‍यान्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू) भनिएको छ।

  • अबदेखि कुनै पनि पक्षले सैन्य कारबाही सुरु गर्ने छैनन्। अनि एकअर्कालाई धम्की पनि दिने छैनन्। साथै लेबनानको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई सम्मान गर्नेछन्।
  • अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेछन्। उनीहरूले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छैनन्
  • अमेरिका र इरानले बढीमा ६० दिनभित्र अन्तिम सम्झौताका विषयमा वार्ता पूरा गर्ने प्रयास गर्नेछन्। यद्यपि दुवै पक्ष सहमत भए यो समयसीमा बढाउन पनि सकिनेछ। दुई देशका नेताहरूले स्थानीय समअनुसार आधिकारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै ६० दिनको काउन्टडाउन सुरु भइसकेको छ।
  • अमेरिकाले आफ्नो नौसेना नाकाबन्दी हटाउन सुरु गर्ने। इरानका बन्दरगामा लगाइएका कुनै पनि अवरोध अन्त्य गर्ने।
  • हस्ताक्षर भएपछि इरानले होर्मुज स्ट्रेटबाट व्यावसायिक जहाजहरू सुरक्षित रूपमा आवतजावतका लागि पूरा प्रयास गर्नेछ। कुनै कर लगाइने छैन। ‘प्राविधिक वा सैन्य बाधा हटाउँदै बारुदी सुरुङ सफा गर्ने कामलाई ध्यान दिँदै जहाज आवागमन तुरुन्तै पुनः सुरु गरिनेछ।
  • अमेरिका र यसका क्षेत्रीय साझेदारहरूले इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब डलरको योजना विकास गर्ने
  • अमेरिकाले इरानविरुद्धका सबै आर्थिक प्रतिबन्ध हटाउने छ। यसमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअन्तर्गत लगाइएका प्रतिबन्ध र अमेरिकाले लगाएका एकपक्षीय प्रतिबन्ध पनि पर्नेछन् . यो कुरा अन्तिम सम्झौताअन्तर्गत तय गरिनेछ। तर दुवै पक्ष यस विषयमा आगामी वार्तामा तुरुन्तै काम सुरु गर्न सहमत भएका छन्

इरानले आणविक हतियार खरिद वा विकास नगर्ने कुरामा सहमति जनाएको छ। इरानसँग पहिलेदेखि रहेको संवर्धित युरेनियम समाधानका विषयमा भने यसअघि नै दुवै पक्ष सहमत भइसकेका छन्।  यद्यपि यो कसरी हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन। सम्झौतापत्रमा आगामी वार्ताबाट संयन्त्र निर्धारण गर्ने भनिएको छ।

सम्झौताको अर्को दुई भागमा अमेरिका र इरानले समृद्ध युरेनियमको समस्या समाधान नभएसम्म आफ्नो आणविक कार्यक्रम यथावत् राख्ने उल्लेख छ।

यसको अर्थ अमेरिकाले कुनै नयाँ प्रतिबन्ध लगाउने छैन। यस अवधिमा अमेरिकाले तेल र पेट्रोलियम उत्पादन तथा यससँग सम्बन्धित सेवा जस्तै: बैंकिङ कारोबार र यातायातमा छुट दिनेछ। सम्झौतापत्रको बुँदा ११ मा अमेरिकाले एमओयूमा हस्ताक्षर गरेपछि ‘रोक्का गरिएका वा प्रतिबन्ध लगाइएका सम्पत्ति पूर्ण रूपमा फुकुवा गर्ने’ वाचा गरेको उल्लेख छ।

सम्झौताका अन्तिम बुँदाहरूमा सम्झौता कसरी लागु हुन्छ भन्ने विषयमा रूपरेखा दिइएको छ। जसमा भनिएको छ, ‘अमेरिका र इरानले एमओयू पालना र भविष्यको अन्तिम सम्झौताको निगरानीका लागि संयन्त्र बनाउनेछन्।’