३५ दिनकाे म्याद कट्याे, फिर्ता भएन त्रिविको अतिक्रमित जग्गा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अतिक्रमित जग्गा फिर्ता गर्न दिइएको ३५ दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता गरेका छैनन् । त्रिविले जग्गा अतिक्रमणमा संलग्न १७ निकायलाई ३५ दिनभित्र जग्गा फिर्ता गर्न वैशाख ४ मा सूचना जारी गर्दै पत्राचार गरेको थियो ।
तर, कुनै पनि निकायबाट जग्गा फिर्ता नभएको त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईले जानकारी दिए । ‘१७ निकायलाई पत्र लेखका थियौं । तीमध्ये ९ वटा निकायले जवाफ लेखेका छन्,’ उनले भने, ‘तीमध्ये पनि ३ वटाले जग्गा खाली गर्न प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक र कर्मचारी संघले भने भाडामा लगाएको जग्गा फिर्ता गराउन सूचना जारी गरेको जानकारी दिएको महाशाखाले जनाएको छ ।




