काठमाडौँका चार विद्यालयले ल्याए ‘एसइई’मा सत प्रतिशत नतिजा

मूलखबर संवाददाता
काठमाडौं, २ जेठ

काठमाडौँ महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शत्प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन् । यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बाल सेवा माध्यमिक विद्यालय झोछेँ रहेका छन् ।

सत्ताइस वर्षदेखि निरन्तर सफल केन्द्रीय बहिरा मावि
नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यमिक विद्यालयले २०५५ सालदेखि नियमित रूपमा शत्प्रतिशत नतिजा ल्याइरहेको छ । विसं २०२८ मा स्थापित उक्त विद्यालय परिवारको अथक मिहिनेतले यस्तो नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक उपेन्द्र यादव बताउनुहुन्छ ।

उक्त विद्यालयमा अध्ययन गर्ने कान नसुन्ने (बहिरा) २१ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी भएका थिए । यहाँ यस्ता विद्यार्थीलाई दृश्यको माध्यमबाट शिक्षण सिकाइ गरिँदै आएको छ । विविध समस्याका बाबजुत २७ वर्षदेखि नतिजामा सधैँ अगाडि रहेको प्रधानाध्यापक यादवले बताउनुभयो ।

विगत दश वर्षदेखि शत्प्रतिशत
यस्तै, विसं २०७२ देखि निरन्तर शत्प्रतिशत नतिजा ल्याउन सफल भएको श्रम राष्ट्रिय माध्यमिक विद्यालयले २०८२ सालको एसइईमा पनि आफूलाई अब्बल सावित गरेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक सरोज खनालले फरक पठनपाठन संस्कार र निरन्तर मेहनतले उत्कृष्ट नतिजा ल्याउन सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चाडपर्वको दिनबाहेक अन्य कुनै पनि बिदामा विद्यालय बन्द गर्दैनौँ । अनिवार्य विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीको नियमित पठनपाठन हुन्छ । यसरी राम्रो नतिजासहित ल्याउन अहोरात्र खटिने सबै विषयगत शिक्षकका कारण यस्तो सम्भव भएको हो ।”

खनालले शत्प्रतिशत नतिजा ल्याउन मात्र नभई औसत जिपिए पनि उत्कृष्ट रहेकाले विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाले पुरस्कार प्रदान गर्दै आएको र आगामी दिनमा पनि उत्कृट नतिजा ल्याउन विद्यालय परिवारले मेहनत गरिरहने प्रतिबद्धता जनाउनुभयो ।