नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् ।
सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ ।
पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गर्नुभएको बताउनुभयो ।
“सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आइतबार पनि बिदा हुने भएपछि पढाइ थोरै दिन हुने भन्दै पालिकाको शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन सुरु गर्न अनुरोध गर्नुभयो,” उहाँले भन्नुभयो, “प्रअहरुले अनुरोध गरेपछि वैशाख २ देखि ६ गतेसम्म भर्ना अभियान र ७ गतेदेखि नियमित कक्षा सुरु गर्न नगर प्रमुखबाट सहजीकरण भयो ।”
अहिले पालिकामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।





