अन्तत: गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा, बालेनले लिए गृहकाे जिम्मा

मूलखबर संवाददाता
काठमाडौं, ९ बैसाख

अन्तत गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायी दिपक भट्टसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।

उनले राजिनामा दिएपछि गृह मन्त्रालयकाे जिमेवारी प्रधानमन्त्री बालेन्द्र शाहले लिएका छन् ।

उनले राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको भनेका छन् ।

उनले राजिनामा दिँदै भनेका छन् –

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘Gen Z’ आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ भन्ने नै सन्देश दिएको छ। मेरा ४६ जना भाइबहिनीहरूको र’गत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता नै हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘Conflict of Interest’ (स्वार्थको द्व’न्द्व) नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ-प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कतिपय मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ ‘स्वीट सेयर’ छ, त्यो पनि बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ। यो निर्णय मेरो देश, हाम्रा सुरक्षा फौजको सम्मान र नेपालका युवाहरूका लागि हो।