एन्फा र खेलाडीबीच विवाद झन बढ्याे, के हाे विवाद ?
अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति निर्वाचन आउनै लाग्दा एन्फा र खेलाडी क्लबहरूबीच विवाद उत्कर्षमा पुगेकाे छ । विवाद तालाबन्दी र ताला ताेड्नेसम्म पुगेको छ ।
एन्फाले सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने तयारी गरेपछि क्लबहरूले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सात बुँदे माग राखेका थिए।
सुरूमा पत्रकार सम्मेलन गर्दै क्लबहरूले अहिले राष्ट्रिय लिग भइरहेको अवस्थामा ट्रान्सफर विन्ड खुल्ला नगरी अर्को लिगका लागि तयारी गर्न नसकिने बताएका थिए।
साथै विदेशी खेलाडी आबद्ध गर्दा वर्क परमिट लिनलाई पर्याप्त समय आवश्यक पर्ने र राष्ट्रिय लिगमै पनि एन्फाले परमिटको लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सिर्जना भएकाले एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्न माग क्लबहरूको छ।
खेलाडी संघसँग एन्फाको चर्काचर्की नै परेको थियो। कतिपय खेलाडीले त सामाजिक सञ्जालमै एन्फाविरूद्ध क्रोधपूर्ण पोस्ट लेखेका थिए।
क्लबहरूले सात वटा माग सार्वजनिक गरेपछि एन्फाको मुख्यालयमा पुगेका थिए। तर सुरक्षाकर्मी लगाएर एन्फाले क्लब पदाधिकारीलाई सुरूमा भित्र छिर्न दिएन। तर पछि क्लबका पदाधिकारी वार्तका लागि भित्र छिरेका थिए। केहीबेरमै वार्ता भाँडिएपछि क्लबहरूले रिले अनसन थालेका थिए ।
एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचनमा भाग लिनुअघि क्लबहरू आन्दोलित भएका हुन्। यो बीचमा उच्च अदालत पाटनबाट ए डिभिजनको मान्यता पाएको थ्रीस्टार क्लबले आफ्नो पनि मताधिकार कायम हुनु पर्ने बताइएको छ। थ्रीस्टारले एपिएफको मताधिकार समेत खारेज हुनु पर्ने मत राखेको छ। यसविषयमा एन्फाको औपचारिक धारणा आएको छैन।
एन्फाको केन्द्रीय कार्यसमितिका लागि आगामी चैत १३ गते झापामा निर्वाचन हुँदैछ। त्यसअघि फुटबलमा एक प्रकारको ‘भाडभैलो’ नै मच्चिएको छ। एन्फा निर्वाचनमा हालका अध्यक्ष पंकजबिक्रम नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ।





