मधयपुर्व तनाव : युएईमा १ नेपालीसहित ६ जनाकाे मृत्यु
अमेरिका सम्मिलित इजरायल इरान युद्धको चपेटामा खाडी राष्ट्रहरू परेका छन् । अमेरिका र इजरायलले इरानमा आक्रमण गरि सर्वोच्च नेता खामिनिसहित हत्या गरेपछि इरानले खाडि क्षेत्रमा रहेका अमेरिकी बेस क्याम्पमा लगातार आक्रमण गरिरहेकाले त्यस क्षेत्रमा तनाव र संकट देखिएकाे हाे ।।
इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा एक जना नेपाली, २ जना पाकिस्तानी, १ जना बंगलादेशी र १ जना यूएईको नागरिक रहेका छन् ।
यूएईको रक्षा मन्त्रालयले हरेक दिन घटनाबारे जानकारी दिने गरेको छ । अहिलेसम्म आक्रमणमा परेर घाइते भएकामध्ये केही नेपालीहरू समेत परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ति मध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ ।
अन्य घाइते हुनेहरूमा यूएईसहित इजिप्ट, सुडान, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान, अफगानिस्तान, बहराइन, कोमोरोस, टर्किए, इराक, नाइजेरिया, ओमान, जोर्डन र प्यालेस्टाइनका नागरिक रहेका छन् ।
यूएईको मन्त्रालयका अनुसार मंगलबार मात्रै यूएईको वायु रक्षाले ९ वटा ब्यालिस्टिक मिसाइल पत्ता लगाएको थियो । तीमध्ये ८ वटा मिसाइल नष्ट गरिएको र एउटा समुद्रमा खसेको जनाइएको छ । त्यस्तै ३५ वटा मानवरहित हवाई साधन (यूएभी) पत्ता लागेका मध्ये २६ वटा खसालिएको र ९ वटा यूएईको भूभागभित्र खसेका छन् ।
इरानी आक्रमण सुरु भएयता कुल २६२ वटा ब्यालिस्टिक मिसाइल पत्ता लागेको मन्त्रालयले जनाएको छ । तीमध्ये २४१ वटा नष्ट गरिएको, १९ वटा समुद्रमा खसेको र २ वटा यूएईको भूभागभित्र खसेका छन् ।
यूएईको रक्षा मन्त्रालयले देशको सुरक्षा सुनिश्चित गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको र राष्ट्रिय सार्वभौमसत्ता तथा स्थिरता कमजोर पार्ने कुनै पनि प्रयासको कडा जवाफ दिने जनाएको छ ।




