अपडेट : इरानी सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिने शाेक घाेषणा

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।

इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन्।

खामेनीसँगै उनका परिवारका अधिकांश सदस्य मारिएका बताइएको छ । जसमा छोरी, ज्वाइँ, बुहारी र नाति पनि मारिएको भनेर इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। यद्यपि इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए।

आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ।

शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो।

अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।

इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको” भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।