इजरायल र इरानको यात्रा नगर्न नेपालकाे आह्वान

मूलखबर संवाददाता
काठमाडौं, १६ फागुन

नेपाल सरकारले यथास्थितिमा नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ ।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो ।

एडभाइजरीमा भनिएको छ- इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’