के छन् भक्तपुर २ मा नेकपा उमेदवार दीपशिखाको प्रतिबद्धता ?
कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणमा जोड,
सम्पदाहरुको सञ्चालन स्थानीय सरकारमार्फत् हुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता
थिमीमा सांस्कृतिक उद्योगग्राम निर्माण गरिने
मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने
नेपाली कम्युनिष्ट पार्टीका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार राम प्रसाद सापकोटा(दीपशिखा)ले आफ्नो क्षेत्रको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख एजेन्डा लिएका छन् । उनले ऐतिहासिक, सांस्कृतिक विशेषताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै नीतिगत र व्यवहारिक दुवै माध्यमबाट विशिष्ट आवश्यकता परिपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले मूर्तअमूर्त कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणका लागि नीतिगत व्यवस्था मिलाई सोहीअनुरुप बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छन् । गुठी संस्थानको अव्यावहारिक नियमका कारण जात्रा, पर्व चल्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै उनले यसलाई समयअनुरुप परिमार्जन गरी सम्पदामैत्री बनाइने उल्लेख गरेका छन् ।
सापकोटाले गुठीका जग्गाहरुको नियम, कानुन परिमार्जन गरी जात्रा, पर्व, सम्पदा किसानमैत्री बनाइने बताएका छन् । सम्पदाको रेखदेख, अभिलेखीकरण, नियमित सञ्चालन स्थानीय सरकारअन्तर्गत हुने गरी ऐन, कानुन निर्माण तथा संशोधन गर्ने उनको प्रतिबद्धता छ । नेवाः, तामाङ लगायत सबै समुदायका मूर्तअमूर्त सम्पदाको पञ्जीकरण गरी तिनको संरक्षणका लागि नीतिगत व्यवस्थासहित अक्षय कोष स्थापना गर्ने भनिएको छ ।
त्यसैगरी भक्तपुर जिल्लाको सूर्यविनायकका डोलेश्वर, सुवर्णेश्वर, रानीकोटलगायत पर्यटकीय गन्तव्य विकासका लागि बजेट सुनिश्चित गर्ने, ऐतिहासिक सहर थिमि हस्तकला, माटोका भाँडा र सांस्कृतिक पेसा झल्काउने गरी पार्क सहितको सांस्कृतिक उद्योगग्राम निर्माण गर्न तथा सूर्यविनायकमा प्राणी उद्यान निर्माणका लागि बजेट व्यवस्था गर्ने तथा मध्यपुर सांस्कृतिक ट्रेल र सूर्यविनायक पर्यापर्यटनसहित धार्मिक पर्यटन ट्रेल निर्माण गरिने पनि उल्लेख गरिएको छ ।
मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने
सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने बताएका छन् । खाली रहेका सरकारी भवन तथा मर्ज भएका विद्यालय भवनलाई आईटी वर्क स्टेसन र स्टार्टअप केन्द्रका रुपमा प्रयोग गर्ने उनको योजना छ । पार्क तथा सार्वजनिक स्थलहरुमा फ्रि इन्टरनेटको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ ।
प्रत्येक नगरमा आधुनिक प्रविधियुक्त अध्ययन केन्द्र र ल्याबहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने, निर्वाचन क्षेत्रमै रोजगारी, तालिम, सीप विकास र अवसरबारे जानकारी दिने रोजगारी सूचना केन्द्र स्थापना गर्ने लगायत उनको प्रतिबद्धता छ ।




