काठमाडाैं महानगर कार्यसम्पादनमा सबैभन्दा कमजाेर, बिराटनगर बन्याे पहिलाे
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ६ महानगरपालिकामध्ये काठमाडौं सबैभन्दा कमजोर र विराटनगर सबैभन्दा अब्बल देखिएका छन् । मुलुकभरका ११ उपमहानगरपालिकामध्ये बुटवलको कार्यसम्पादन सबैभन्दा राम्रो र इटहरीको सबैभन्दा कमजोर छ । काठमाडाैं महानगरमा हालका रास्वपा वरिष्ठ नेता रहेका तत्कालिन स्वतन्त्र निर्वाचन जितेका बालेन शाहकाे नेतृत्व हेकाे थियाे । उनले गत माघ ४ गते राजीनामा गरी निर्वाचनमा हाेमीएका छन् । उनी झापा ५ मा उमेदवार बनेका छन् ।
मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।
कार्यसम्पादन मूल्यांकनका सूचकमा विद्यार्थी भर्नादर, विद्यार्थी टिकाउ दर, एसईई नतिजा, बजेट खर्चको व्यवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, राजस्व परिचालन, गर्भ जाँच गराउने महिला अनुपात, खोप रहेका छन् ।
यसैगरी सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, तोकिएकै समयमा बजेट पारित गरे/नगरेकोलाई आयोगले मूल्यांकनको आधार बनाएको छ । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा मनोरञ्जन कर, घरजग्गा रजिस्ट्रेसन शुल्क तथा विज्ञापन करबापत संकलित रकमध्ये प्रदेश सरकारलाई दिए/नदिएको मापदण्डबाट मूल्यांकन गरिएको छ । स्थानीय तहले ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्छ । आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाउनुपर्छ । कात्तिक मसान्तभित्र बजेट समीक्षा गरी सार्वजनिक गर्नुपर्छ ।
प्राप्त अंक चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित स्थानीय तहले ७ दिनभित्र पुनरावलोकनका लागि तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन् । यसका लागि आयोगले बिहीबार नै सूचना जारी गरेको छ ।




