दुई हजारभन्दा बढी आइएस बन्दी सिरियाबाट इराक स्थानान्तरण

मूलखबर संवाददाता
काठमाडौं, २५ माघ

इराकमा अहिलेसम्म अमेरिकी सेनाले गत महिना सिरियाबाट स्थानान्तरण गर्न थालेका इस्लामिक स्टेट (आइएस) समूहका दुई हजार २२५ बन्दीहरू आइपुगेका इराकी अधिकारीले शनिबार एएफपीलाई बताएका छन्।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले गत महिना सिरियामा रहेका सात हजार आइएस बन्दीमध्ये दुई हजार २२५ जनालाई सिरियाबाट इराक स्थानान्तरण गरिएको छ ।

यसअघि उनीहरुलाई उत्तरपूर्वी सिरियामा कुर्द नेतृत्वको ‘सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ)’ ले सञ्चालन गरेको जेल र शिविरमा राखिएको थियो ।

सिरियाका लागि अमेरिकी विशेष प्रतिनिधि टम ब्यारेकले आईएससँग जुध्न एसडीएफको भूमिका समाप्त भएको घोषणा गरेपछि यो स्थानान्तरण योजनाको घोषणा गत महिना गरिएको थियो।

इराकी प्रधानमन्त्रीको कार्यालयसँग जोडिएको सुरक्षा सूचना शाखाका प्रमुख साद मानले शनिबार एएफपीसँग भन्नुभयो, “इराकले सिरियाली पक्षबाट दुई हजार २२५ आतङ्ककारीहरूलाई अन्तर्राष्ट्रिय गठबन्धनको समन्वयमा पुर्याएको छ ।

उनीहरूलाई नियमित रुपमा कडा नजरबन्द केन्द्रमा राखिएको उहाँले बताउनुभयो ।

कुर्दिस सेनाको स्रोतले एएफपीलाई बताएअनुसार ’अन्तर्राष्ट्रिय गठबन्धनको संरक्षणमा आइएसका बन्दीहरुलाई सिरियाबाट इराकमा स्थानान्तरण गरिरहेको’ पुष्टि गरिएको छ ।

शनिबार उत्तरपूर्वी सिरियाको कुर्द बहुल शहर कामिश्ली नजिकै एएफपीका एक फोटोग्राफरले अमेरिकी सेनाको काफिला र रंगीन झ्यालहरू भएका ११ वटा बसहरू देखेको पुष्टि गरे ।