निर्वाचन २५ दिन बाँकी : यस्ताे छ सुरक्षा संयन्त्र परिचालनकाे तयारी
निर्वाचन अायाेगले निर्वाचनका तयारी गतिविधि तिब्र बनाइरहँदा सरकारले सुरक्षा संयन्त्र पनि प्रभावकारी परिचालनकाे तयारी गरेकाे छ । सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरीलाइ प्रत्यक्षा रूपमा फिल्डमा खटाउने भएकाे छ ।
प्रतिनिधिसभा निर्वाचन सुरक्षामा नेपाली सेना २१ माघदेखि फिल्डमा खटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) पनि अर्को सातादेखि निर्वाचन सुरक्षाकै लागि तैनाथ हुँदै छ ।
राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि निर्वाचनलाई प्रतिकूल असर पार्ने र निर्वाचन आयोगबाट जारी गरिएका आचारसंहिता विपरीतका गतिविधि निगरानीका लागि सूचना संकलनमा खटिइसेकका छन् । निर्वाचन सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘सहयोगी जनशक्ति’का रुपमा भर्ना भएका १ लाख ४९ हजार ९० जना ‘निर्वाचन प्रहरी’लाई पनि आधारभूत सुरक्षा तालिम दिएर अर्को साताबाटै परिचालन गरिँदै छ ।
यसरी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकार ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२ अनुसार अघि बढेको छ ।
स्वीकृत कार्ययोजनाअनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी पाँचवटै फौजलाई निर्वाचन सुरक्षामा जिम्मेवारी र भूमिका किटान गरी परिचालन गरिँदै छ ।
समानुपातिकतर्फ ११० र प्रत्यक्षतर्फ १६५ सदस्यका लागि एकैचरणमा निर्वाचन हुन लागेकाले सुरक्षा चुनौती र जोखिमलाई विश्लेषण गरी तहगत सुरक्षा जिम्मेवारी र रणनीति अवलम्बन गरिएको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ । जसमा विगतमा झैं मतदानस्थल र मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरीको नेतृत्वमा प्रहरी र निर्वाचन प्रहरीलाई खटाउन लागिएको छ ।




