नेपालमै उनान्सय प्रतिशत क्यान्सरको उपचार सम्भव

मूलखबर संवाददाता
काठमाडौं, १४ माघ

नेपालमै उनान्सय प्रतिशत क्यान्सरको उपचार सम्भव छ । क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन ।

“विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो, “नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन् ।”

नेपालमा नभएका प्रविधिमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी जस्ता क्यान्सरका उपचार हुन् । ती उपचार नेपालमा सम्भव छैन । प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन), जसको मूल्य खर्बौं रुपियाँ पर्दछ, भारतमा पनि सीमित मात्रामा यस्ता प्रविधि रहेको छ । तीबाहेक अन्य सम्पूर्ण उपचार नेपालमा हुने गरेको छ । डा. चालिसेले उनन्सय प्रतिशत क्यान्सरको उपचार नेपालमा नै हुने गरेको बताउनुभयो ।

निजी अस्पतालहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) की कोषाध्यक्ष स्वरूपा श्रेष्ठले क्यान्सर उपचारमा नेपालले फड्को मार्दै गएको जानकारी दिनुभयो । “क्यान्सर उपचारमा नेपालका अस्पतालले नयाँ प्रविधि ल्याएर अगाडि बढिरहेका छन्,” कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, “एकाध प्रविधिबाहेक नेपालको क्यान्सर उपचार उत्कृष्ट छ ।”- गाेरखापत्रबाट