काठमाडौँ ४ का गम्भीर जनजीविकाका समस्याबारे उमेदवार भुषालले गराए ध्यानाकर्षण

मूलखबर संवाददाता
काठमाडौं, ९ माघ

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार इन्द्रकुमार भुसालले काठमाडौँ क्षेत्र नम्बर ४ का गम्भीर जनजीविकाका समस्यामाथि ध्यानाकर्षण गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहभागी नेकपा एमालेकाे अाेखलढुंगकाे सिंगाे जिल्ला कमिटि नै नेपाली कम्युनिष्ट पार्टीमा समायाेजन हुने कार्यक्रममा बोल्दै उम्मेदवार भुसालले बबरमहलदेखि चुनिखेलसम्म फैलिएको ढल व्यवस्थापनको गम्भीर समस्याका कारण हजारौँ नागरिकको दैनिक जीवन कष्टकर बनेको उल्लेख गरे।

साथै, बर्खायाममा कपन क्षेत्रमा हुने डुबानले जनजीवन आक्रान्त बनेको यथार्थ प्रस्तुत गर्दै यी समस्या अब सहन नसकिने तहमा पुगेको बताए।

उनले काठमाडौँ क्षेत्र नम्बर ४ का जनतासँग गरेको प्रतिबद्धता अनुसार ढल व्यवस्थापन, डुबान नियन्त्रण तथा आधारभूत सहरी पूर्वाधार सुधारलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिँदै, ती विषयलाई पार्टीको केन्द्रीय एजेन्डाका रूपमा अघि बढाउन नेतृत्वसमक्ष आग्रह गरे।

भुसालले जनताको पीडालाई नीति, कार्यक्रम र बजेटसँग जोडेर समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै, जनमुखी विकास र दिगो समाधान बिना समृद्धि सम्भव नहुने धारणा व्यक्त गरे।