डा. बुढाथोकी बने रास्वपाबाट रामेछापमा उमेदवार

मूलखबर संवाददाता
रामेछाप, ६ माघ

आगामि फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभाकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामेछापबाट डा.कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

रास्वपाले आफूलाई उम्मेदवार चयन गरेर टिकट दिएको डा.बुढाथोकीले बताए ।

डा.बुढाथोकी रामेछापको भूगोलमा परिचित नाम हो । समृद्ध रामेछाप बनाउने अभियानमा डा.बुढाथोकी यसअघिदेखि नै निकै सक्रिय रहेका थिए । डा.बुढाथोकी गरिब, दिन दुःखी र विरामीहरुका पनि प्रिय पात्र हुन् । डा.बुढाथोकीले अभियान नै सञ्चालन गरेर गरिब, दुःखी र विरामीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

जहाँ रहे पनि आफ्नो जन्मथलोको विकास र समृद्धिका लागि योगदान गर्नुपर्छ भन्ने सोच राख्ने डा.बुढाथोकीले रामेछापको उत्पादनको बजारीकरण, युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रोत्साहन र मानवीय सेवामा ठूलो योगदान पुर्याउँदै आएका छन् । नेपाल बैंकको जागिर छाडेर डा.बुढाथोकी राजनीतिमा होमिएका हुन् । डा.बुढाथोकीले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

रास्वपाले उम्मेदवार बनाएसँगै डा.बुढाथोकीलाई रामेछापको बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको समय तोकिएको छ ।