स्पेनमा अनाैठाे रेल दुर्घटना, कम्तीमा २१ जनाको मृत्यु
युरोपेली मुलुक स्पेनमा तीव्र गतिको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दक्षीणी ीपेनमा भएको सो दुर्घटनामा ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या अझै बढ्न सक्ने आंकलन सुरक्षा अधिकारीहरुले गरेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ३० जनाभन्दा बढी व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेले बताएको बीबीसीले जनाएको छ ।
रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार उक्त दुर्घटना एडामुस नगर नजिकैको स्थानमा भएको छ जहाँ मालागाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको एउटा रेल आफ्नो लीकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो।
त्यसरी उछिट्टिएको सो रेल मड्रिडबाट वेल्भातर्फ गइरहेको अर्को रेलसँग ठोक्किन पुगेको थियो। दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएका एन्डालुसियाका आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।
एउटा सीधा लीकमा गुडिरहेको रेल एकाएक त्यहाँबाट उछिट्टिएको घटना ‘एकदमै अनौठो’ प्रकृतिको देखिएको मन्त्री प्वेन्टेले बताएका छन्। उनका अनुसार गत वर्षको मे महिनामा मात्र उक्त लीकको मर्मतसम्भार गरिएको थियो।




