काठमाडाैं ४ मा गगनलाई चुनाैति दिने इन्द्र काे हुन् ?

मूलखबर संवाददाता
काठमाडौं, २३ पुस

आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका नेता इन्द्र भुषालबीच सीधा चुनावी भिडन्तको सम्भावना बढ्दै गएको हो ।

नेपाली कम्युनिस्ट पार्टीको क्षेत्रीय समिति तथा उपत्यका विशेष समितिले इन्द्र भुषाललाई उम्मेदवारका रूपमा पहिलो नम्बरमा राखी सिफारिस गरेपछि उक्त क्षेत्रको राजनीतिक समीकरण थप ताताे बनेको छ । पार्टी संगठनभित्र भुषालको सक्रियता, लामो समयदेखिको राजनीतिक अनुभव र स्थानीय तहमा रहेको प्रभावलाई आधार मानेर सिफारिस गरिएको नेताहरूले बताएका छन् ।

उता, नेपाली कांग्रेसबाट गगन थापा यस क्षेत्रका स्थापित र लोकप्रिय नेताका रूपमा चिनिन्छन् । स्वास्थ्य, शिक्षा र सुशासनका विषयमा संसदमा सशक्त आवाज उठाउँदै आएका थापा युवामाझ विशेष लोकप्रिय मानिन्छन् । अघिल्ला निर्वाचनहरूमा पनि काठमाडौं क्षेत्र नं ४ कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा रहँदै आएको छ ।

दुबै जना विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा उदाएका नेता हुन् । भुषाल यस अघि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रहेका थिए भने थापा नेपाल विद्यार्थी संघका सभापति र जनआन्दोलनमा सहभागी रहेका थिए ।

दुवै दलका प्रभावशाली नेताबीच हुने सम्भावित प्रतिस्पर्धाले काठमाडौं क्षेत्र नं ४ को चुनावलाई चासोको केन्द्र बनाएको छ । उम्मेदवारको औपचारिक घोषणा र चुनावी अभियानसँगै राजनीतिक गतिविधि अझ तीव्र हुने अनुमान गरिएको छ ।

लामो समयदेखि विद्यार्थी राजनीतिका सक्रिय रहँदै आएका नेता भुसाल ४ नम्बर निर्वाचन क्षेत्रमा समाजसेवीको रुपमा समेत चिनिने गरेका छन् । नेता भुसालले विद्यार्थी राजनीतिको जग समेत चाबहिलस्थित पशुपति क्याम्पसबाट नै बलियो बनाउदै लगेका हुन् ।

२०५९ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडाैं आएका नेता भुसाल २०६२ सालको स्ववियु निर्वाचनमा पशुपति क्याम्पसमा सह-सचिव पदमा निर्वाचित भएका थिए भने २०६५ मा उपसभापति समेत बनेका थिए ।

माओवादी राजनीतिमा सक्रिय नेता भुसाल अखिल क्रान्तिकारीको वरिष्ठ उपाध्यक्ष हुँदै पछिल्लो समय उपत्यका विशेष समितिको उपाध्यक्ष समेत रहेका थिए भने भुकम्प, कोरोना र काठमाडाैंदेखि देशका विभिन्न क्षेत्रमा बाढी आउँदा समेत उनी सक्रियतापुर्वक समाजसेवामा उत्रिने गरेका नेतामा पर्छन् ।

काठमाडाैंमा लामो समयदेखि राजनीति गरिरहेका भुसालले कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक उचाई जे जस्तो भएपनि उनले जितेर गएपछि जनताले विकास र सामाजिक न्यायको अनुभूति गर्न नसकेको भन्दै आफ्नो उम्मेदवारी सशक्त पार्दै लगेका छन् ।

नेकपाको जनाधार काठमाडाैं उपत्यकामा उल्लेख्य छैन भन्ने मानिसकतालाई पराजित गर्न र कांग्रेस महामन्त्री थापालाई पराजित गरेर देशको राजनीतिमा युवाहरुले हस्तक्षेप गर्न सक्छन भन्ने देखाउन समेत आफू उम्मेदवार बन्न लागेको नेता भुसालको दाबी छ ।

उसोतः नेता भुसालले आफ्नो निर्वाचन क्षेत्रका लागि विकासका योजनादेखि स्थानीयसंग जनप्रतिनिधि जस्ता कार्यक्रमको अन्तिम तयारी गरिरहेको र केहिदिनमा सार्वजनिक गर्ने तयारी रहेको दाबी समेत गरेका छन् ।