पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश पारित, के हाे इथानाेल ?
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण मानिएको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश-२०८२ लाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ ।
दुई दशक अगाडि इथानोल मिश्रणका योजना बनाएपनि सरकारले कार्यान्वयन हुन सकेको थिएन । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत भएपछि अब नेपालले ठूलाे पफाइदा लिन सक्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताउनुभएकाे छ ।
इथानोल भनेको के हो ?
इथानोल एउटा ‘बायो–फ्युल’ (जैविक इन्धन) हो । यो खासगरी वनस्पतिजन्य स्रोतहरूबाट तयार पारिन्छ । यसलाई पेट्रोलमा निश्चित प्रतिशतसम्म मिश्रण गरेर सवारी साधनमा प्रयोग गर्न सकिन्छ । यसका मुख्य तीनवटा फाइदा छन् । पहिलो, यसले पेट्रोलको कार्यक्षमतामा सुधार ल्याउँछ । दोस्रो, यो वातावरणीय हिसाबले निकै राम्रो छ । पेट्रोलको तुलनामा इथानोलले कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जन निकै कम गर्छ । तेस्रो, यसले खनिज इन्धनको खपत घटाउँछ, जसले गर्दा हाम्रो आयातमा केही कमी आउँछ । यो एउटा स्वच्छ ऊर्जाको विकल्प पनि हो ।




