युवा व्यवसायी सचिन ढकालले लिए रास्वपाकाे समानुपातिक सुचीबाट नाम फिर्ता
रास्वपाको समानुपातिक सूचीबाट युवा व्यसायी सचिन ढकालले नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको चन्द्र ढकालका छोरासमेत रहेका उनले व्यक्तिगत कारणले नाम फिर्ता लिएको बताएका छन् ।
रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेपछि बुबाकाे नाम जाेडेर चौतर्फी विरोध भएको थियो ।
फेसबुकमा उनले लेखेका छन्, “नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।”
यद्यपि, युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने उनले उल्लेख गरेका छन्। आवश्यक परे राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न सधैं तयार रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
यसअघि शनिबार नै फिल्म निर्माता आसिफ शाहले पनि रास्वपाको समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए। त्यसअघि गायिका त्रिसला गुरुङले पनि उम्मेदवारी फिर्ता लिइसकेकी थिइन्।




