भव्यसाथ सकियाे मुग्लिङमा महाेत्सव, २ लाखले गरे अवलोकन, कराेडाैंकाे भयाे काराेबार
पृथ्वी राजमार्गमा पर्ने प्रमुख व्यापारिक केन्द्र मुग्लिङमा पुस ११ देखि १५ गतेसम्म सञ्चालन भएको दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल भव्य र सानदार रूपमा सम्पन्न भएको छ। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, किसानको आयवृद्धि र पर्यटन विकासलाई लक्ष्य गरी आयोजना गरिएको महोत्सवले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको आयोजक समितिले जनाएको छ।

महोत्सव अवधिभर दुई लाखभन्दा बढी दर्शक तथा उपभोक्ताले प्रत्यक्ष अवलोकन गरेका छन् । आयोजकको दाबी अनुसार यसपटकको महाेत्सव यस क्षेत्रमा नै भव्य भएको छ । महोत्सवमा इच्छाकामना गाउँपालिकासहित आसपासका क्षेत्रका किसानले उत्पादन गरेका १८ टनभन्दा बढी सुन्तला बिक्री भएको छ। सुन्तलासँगै स्थानीय परिकार, कृषि सामग्री, हस्तकलाका सामान र विभिन्न खाद्य स्टलमार्फत करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ।

स्थानीय जातका सुन्तलाको स्वाद, गुणस्तर र ब्रान्डिङलाई उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेलेको सहभागी किसानहरूको भनाइ छ। साथै फुड फेस्टिबलअन्तर्गत स्थानीय परिकारहरूको प्रदर्शनी तथा स्वाद चखाउने कार्यक्रमले आन्तरिक पर्यटकलाई आकर्षित गरेको थियो।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोकनृत्य, झाँकी प्रदर्शन गरिएको थियाे । आयोजकका अनुसार यस किसिमका महोत्सवले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै मुग्लिङ क्षेत्रलाई कृषि–पर्यटनको केन्द्रका रूपमा विकास गर्न टेवा पुर्याएकाे छ ।
महाेत्सव २०८२ पौष ११ गते देखी १५ गतेसम्म बिहान १०ः०० बजेदेखी राती ०८ः०० बजेसम्म मुग्लिङ बजारमा आयोजना भएको थियाे । महाेत्सवमा जनवादी गायक जीवन शर्मासहित ख्यातिप्राप्त स्थानीय र राष्ट्रिय कलाकारहरूले विभिन्न गित प्रस्तुत गरेका थिए । आयाेजक मध्ये एक चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले महाेत्सव साेचेकाे भन्दा सफल भएको बताउनुभयाे ।
महोत्सव व्यवस्थापनको जिम्मेवारी चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले लिएका थिए ।




