एसियाली फुटबलमा अब नयाँ प्रतियोगिता, एएफसीमा आबद्ध सबै ४७ टोली सहभागी हुने
एसियाली फुटबल कन्फेडरेसन (एएफसी) ले अबदेखि नेपालसहित एसियाका सबै राष्ट्रिय टिमहरूका लागि नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारेको छ।
एएफसी नेसन्स लिग नाममा हुने प्रतियोगितामा एएफसीमा आबद्ध सबै ४७ टोली सहभागी हुनेछन्। नेपाल लगायतका एसियाका राष्ट्रिय टिमले फिफाले तोकेको समयमा मैत्रीपूर्ण खेल खेल्ने गरेका छन्।
तर ती खेलमा राम्रो प्रतिद्वन्द्वी पाउन गाह्रो हुने, लामो यात्रा गर्दा खर्च धेरै हुने र धेरैजसो खेलहरू अर्थहीन हुने जस्ता समस्या हुने गरेको छ।
अब यो नयाँ एएफसी नेसन्स लिगले ती मैत्रीपूर्ण खेललाई प्रतियोगिताको रूप दिनेछ। अर्थात्, नेपाल लगायतका एसियाली देशहरूले खेल्ने धेरैजसो अन्तर्राष्ट्रिय म्याचहरू अब यो प्रतियोगिताभित्र पर्नेछन्। यो प्रतियोगिता युरोपको यूईएफए नेसन्स लिगजस्तै हुनेछ।




