संसद भनेको जनताबाट निर्वाचित देशकै सर्वोच्च संस्था हाे : अध्यक्ष, राष्ट्रियसभा

मूलखबर संवाददाता
काठमाडौं, २८ मंसिर

संसारका सबै लोकतान्त्रिक देशहरूमा संसद भनेको उच्च सम्मान प्राप्त जनताबाट निर्वाचित देशकै सर्वोच्च र विश्वसनीय संस्था हो भन्ने कुरामा कुनै दुई मत छैन।

सर्वप्रथम संघीय संसद सेवा दिवसको यस गरिमामय अवसर‌मा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको यस शुभ अवसरमा इमानदारिताका साथ सफल र उत्कृष्ट कार्य सम्पादन गर्नु भई पुरस्कृत हुनु हुने सबै कर्मचारीहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनहरूमा इमान्दारिताका साथ अझ उत्कृष्ट कार्य गर्न सफल हुनु हुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु।

संसद सेवा दिवसको अवसर‌मा सप्ताहव्यापी रूपमा सञ्चालन भएका विभिन्न खेलकुद, वौद्धिक एवम् शारीरिक क्रियाकलाप र रक्तदानमा सहभागी हुनुभएका सबैलाई धन्यवाद दिन चाहन्छु। खेलकुद लगायत‌का अतिरिक्त क्रियाकलापमा विजयी हुने टोली र व्यक्तिहरु सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको यस दिनले हामी सबै संघीय संसदका सम्बद्ध पक्ष उच्च मनोवलका साथ संघीय संसदको गरिमा बढाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न र जनताप्रति थप उत्तरदायी र इमान्दार बनेर काम गर्न प्रेरित गर्ने विश्वास पनि लिएको छु।

मलाई पूर्ण विश्वास छ कि संघीय संसदका पदाधिकारी तथा सदस्यहरू र सबै तहका कर्मचारीहरूको बलियो गर्विलो विश्वास‌, एकता र सहकार्यले मात्र संसदलाई जनअपेक्षित, अझ सक्षम, प्रभावकारी र जवाफदेही बनाउन सकिन्छ। यस अवसर‌मा आफ्नो निष्ठा, लगन‌शीलता, दक्षता र मेहनतबाट संसदलाई कर्तव्यनिष्ठ, प्रभावकारी र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने सबै तहका कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

हुन त संसदको मुख्य काम भनेको कानुन निर्माण, संसदीय निगरानीका साथै सरकारका काम कारवाहीलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर रचनात्मक सुझावसहित खबरदारी गरिरहनु हो। तर हामीलाई देशमा हुने हरेक प्रकारका राजनैतिक घटना क्रमलाई पनि नियालेर त्यस अनुसार हाम्रा कार्यलाई सम्पादन गर्न र सचेततापूर्वक अगाडि बढ्न आवश्यक छ।

यही भाद्र २३ र २४ गते जेनजीका नाममा भएका घटनाह‌रू‌ले हामी सबैलाई केही हदसम्म स्तब्ध बनायो। देशका मुख्य मुख्य राष्ट्रिय सम्पदामाथि भएको वर्वर आक्रमणबाट देशलाई ठुलो नोक्सानी भयो। बानेश्वरस्थित हाम्रै संघीय संसद भवन, सिंहद‌र‌बारभित्रका धेरै संरचनाको भौतिक क्षतिले हामी आहात भएका छौँ। पुरानो संसद भवन जलेको र नयाँ भवन बन्न अझै केही समय कुर्नुपर्ने अवस्था छ।

यस विषम परिस्थितिमा राष्ट्रिय सभाको अबको सभा चलाउन कठिन भएको छ। यस अवस्थामा हामी सबै कति जिम्मेवार भयौँ? यस परिस्थितिबाट बाहिर आउन हाम्रो भूमिका कस्ता रह्यो? राष्ट्रसेवक हौँ भनेर गर्व गर्न रूचाउने हामीले कति संवेदनशील भएर काममा जुट्यौँ? जेनजी आन्दोलनको क्रममा उठाइएका सवालहरूले आम जनतामा के कस्ता प्रभाव पारेका छन्? यी र यस्तै प्रश्नको जवाफ हामीले हाम्रा काम र व्यवहारबाट कसरी दिन्छौँ? हाम्रा काम र उपलब्धि साथै नकारात्मक कुराको इतिहासले मूल्याङ्कन गर्ने नै छ भन्ने मलाई लाग्दछ।

म यहाँ के जोड दिन चाहन्छु भने माथि उल्लिखित तत्काल उत्पन्न प्रश्न लगायत विगत २४ वर्षदेखि निरन्तर हाम्रा अगाडि उठ्ने प्रश्न हल गर्न आजको संसदले आफ्नो काममा कति प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ? संसद सेवा, यसको आकर्षण र भूमिका संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिका कस्तो छ? २४ वर्ष अगाडि जुन पवित्र उद्देश्य, लक्ष्य र सोच राखेर छुट्टै संसद सेवा गठन गरिएको थियो, त्यस लक्ष्यमा हामी पुग्यौँ कि पुगेनौँ? नपुगेको भए किन पुग्न सकेनौँ? हाम्रा व्यवहार कति निस्वार्थ र पवित्र छन्? हाम्रो पक्षधरता भनेको संसद सेवालाई संघीय संसद, लोकतन्त्र र जनताप्रति हो भन्दा भन्दै हाम्रा व्यवहारहरू कस्ता भइरहेका छन्? कतै हाम्रा पक्षधरताहरू कुनै नेता, उच्च कर्मचारी र समूह वा स्वार्थबाट निर्देशित त छैनन्?

यी र यस्तै सवालहरू बारे यस संसद सेवा दिवसको अवसरमा गहन छलफल र समीक्षा गरी अगाडि बढनुपर्छ भन्ने कुरा म यहाँ गम्भीरतापूर्वक राख्न चाहन्छु। नत्र भने वर्षमा एक पटक दिवस मनाउने र त्यतिमै रमाउने मात्र भयौ भने त्यसको कुनै अर्थ रहदैन र हाम्रा सबै कार्यक्रमहरू मात्र औपचारिकतामा टुंगिन्छन्।

आज देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बनेको छ। कहाँ कति कसले कसरी भ्रष्टाचार गरेको र भएको छ, यसको वास्तविकता के हो भन्ने विषय भविष्यमा अनुसन्धानले पत्ता लाग्ला नै। यस परिस्थितिमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक छ। त्यसमा पनि हाम्रो संघीय संसदमा आबद्ध सबै पक्ष एकताबद्ध भएर झनै गम्भीर बन्न आवश्यक छ।

लोकतन्त्रको सुन्दर र मुख्य पक्ष भनेको निर्वाचन हो। यसमा जनचासो, जनविश्वास र भरोसा अडिएको हुन्छ। यतिबेला जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मुख्य काम भनेको आउँदो फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु हो। यो निर्वाचन प्रतिनिधि सभा विघटन भएपछि कति आवश्यक र महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैले अनुभूत गरेकै छौँ। यो चुनाव समयमै भयरहित वातावर‌णमा निष्पक्ष र धाँधलीरहित गराउन सरकारको जति दायित्व छ, सरकारलाई सहयोग गर्नु त्यति नै दायित्व हाम्रो पनि हो भन्ने कुरा बुझ्न जरूरी छ।

२०५८ साल अगाडि निजामती सेवा ऐन अन्तर्गत सञ्चालित संसद सचिवालय, संसदको सार्वभौमिकतालाई अलग गरी संसद सेवा ऐन जारी गरी संसद सेवा प्रारम्भ गरियो। स्थापना गरेको लामो समय भए पनि अर्थात् २०६४ सालको व्यवस्थापिका संसद सेवा ऐन बनाए पनि कानुनी रूपमा स्वयत्त सेवाको रूपमा स्थापना गरिएको सेवा भए पनि व्यवहारिक रूपमा स्वयत्तताको अभ्यास गर्ने विषय विविध कारणले आजसम्म ओझेलमा नै रहेको तितो अनुभव हाम्रो सामु छ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै यस आयामसँग तादम्यता हुने गरी प्रचलनमा रहेका तथा सेवासँग सम्बन्धित ऐन समय सापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता हामी सबैले महसुस गरे पनि काममा भने ढिलाइ भइरहेको छ। संसद सेवाका केही अहम विषय सभाका नियमावलीहरूमा पनि थप व्यवस्थित गर्न आवश्यक छ। प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृति विकासका साथै थप उन्नत सिप, ज्ञान निपूणताको लागि पनि कमजोरी देखिएको छ।

अर्को तर्फ हेर्दा संसद सेवा अगाडि देखिएका चुनौतीहरू व्यावसायिक र दक्षताको अभाव, सङ्गठनात्मक स्पष्टतामा कमी, संघीय संरचनासँग कदम मिलाएर अघि बढ्न नसक्नु, प्राविधिक तथा डिजिटल क्षमता कमजोर हुनु, कर्मचारी व्यवस्थापनमा समान अवसरको अभाव र अन्तर्राष्ट्रिय मानक अनुसार कार्य सम्पादन मूल्याङ्‌कन प्रणाली नहुनुका साथै भावी दिशातर्फ हेर्दा तीव्रतर रूपमा विकास हुँदै गएको समाज, समय र प्रविधिका तुलनामा संघीय संसद सेवाको आधुनिकीकरण र समग्र पुनसंरचना गर्न अपरिहार्य भएको छ। म यहाँ यो पनि स्मरण गराउन चाहन्छु कि संघीय संसद सचिवालय कर्मचारी युनियनको नेतृत्वले आफू मातहतका सबै कर्मचारीहरुलाई योजना र भावनात्मक रुपले बिना पूर्वाग्रह एकताबद्ध गराई संसद सेवालाई गर्विलो बनाउन विशेष आग्रह गर्दछु।

अझ भन्नुपर्दा संसद सचिवालयको संस्थागत स्वतन्त्रता सुनिश्चित गर्दै संसद सेवालाई प्रशासनिक मात्र होइन ज्ञान आधारित अनुसन्धानमुखी र नीति सहयोगी पेशागत संस्थामा रूपान्तरण गर्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्छ। यसका लागि कर्मचारीलाई काममा निरन्तर प्रेरित गर्नका लागि उनीहरूप्रति नेतृत्वले सकारात्मक व्यवहार गर्नुका साथै टिमवर्कका लागि वातावरण बनाउनु पर्ने, उनीहरूको कामको उचित मूल्याङ्कन र समयसापेक्ष आवश्यकता अनुसार भत्ता र अन्य सुविधा वृद्धिमा ध्यान दिनुपर्ने, अवसर र बढुवाको सुनिश्चितता गर्दै सन्तुष्टि र प्रेरित गर्न विशेष ध्यान दिनुपर्छ। साथै विभिन्न किसिमले पूर्वाग्रही भई गरिने भेदभावको अन्त्य गरि वृत्ति विकास र क्षमता विकासमा ध्यान दिन जरूरी छ। सरकारबाट वितरण गरिने स्रोत साधनको न्यायोचित वितरण, कर्मचारीका गुनासाको समयमै सुनुवाइ गर्ने र त्यसको व्यवस्थापन गर्न र कामको भूमिका स्पष्ट पार्दै निष्पक्ष मूल्याङ्कन हुन्छ भन्ने कुराको विश्वास दिलाउन सबै पक्ष गम्भीर हुनुपर्छ भन्नेमा हाम्रो दुईमत नहोला।

अर्कोतर्फ हाम्रा अगाडि सबै क्षेत्रमा सधैँ गम्भीर रूपमा उठ्ने विषय हामीलाई स्पष्ट निर्देशन समयमा नआउने, वृत्तिविकासका लागि समय-समयमा तालिम, कार्यशाला गोष्ठी नहुने, राजनीतिक हस्तक्षेप, पहुँचवालालाई अवसर र चाकडी चाप्लुसीको संस्कृतिले हाम्रो सेवामा असन्तुलन पैदा गर्ने गरेको भन्ने गुनासाहरुका विषयमा पनि उत्तिकै गम्भीर हुन जरूरी छ।

संघीय संसद सेवा नै प्रभावकारी संसदको आधार हो। प्रभावकारी संसद नै लोकतान्त्रिक शासनको मेरूदण्ड हो भन्ने कुरालाई यस अवसरमा गहिरो मनन गर्न जरूरी छ। संघीय संसद सेवालाई पारदर्शी, समावेशी र जनमुखी बनाउन हामी सबैले कडा मेहनत गर्न जरूरी छ। यसलाई आकर्षक, सम्मानित एवम् गरिमामय सेवा बनाउन हामी सबैको इमान्दारिता, जवाफदेहिता र तीव्र इच्छाशक्तिको आवश्यकता छ भन्ने मलाई गहिरो अनुभूति छ।

अन्तमा, संघीय संसद सेवालाई आधुनिकीकरण गर्न डिजिटल संसदको पूर्ण कार्यान्वयन, अनुसन्धान तथा तथ्य विश्लेषण केन्द्रको सुदृढीकरण र कर्मचारीलाई राजनीतिक निष्पक्षता तथा पेशागत नैतिकतामा उन्मुख गराउने स्पष्ट मार्ग निर्देशनको आवश्यकतालाई गहिरो आत्मसात् गर्दै यस संसद सेवा दिवसको अवसरमा यहाँ कार्यरत सबै तहका राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास गर्न, दक्षतामा निपूण बनाउन र राज्यले दिएका सेवा सुविधा ऐन कानुनमा उल्लिखित हक अधिकारलाई कार्यान्वयन गराउन म मेरो ठाउँबाट सदा प्रतिबद्ध रहेको जानकारी गराउँछु। विगत २४ वर्षमा प्राप्त उपलब्धिलाई आत्मसात् गर्दै हाम्रा अगाडिका कमीकमजोरीलाई शिक्षाको रूपमा लिई विना पूर्वाग्रह हाम्रो दायित्व पूरा गरौँ।

आउनुहोस्, हामी सबैले हातेमालो गर्दै हाम्रा अगाडिका सम्भावनालाई आत्मसात् गर्दै चुनौतीलाई परास्त गर्न अगाडि बढौँ। हामी संघीय संसदभित्र गरिने सबै प्रकारका गतिविधि र निर्णयहरु सिंहदबार गेटबाहिर जाँदा जनता र सम्बन्धित पक्षमा गर्व अनुभूति गर्न योग्य र लायक बनाउन इमान्दारिताका साथ लागौँ भन्दै फेरि पनि संघीय संसद सेवाको अवसरमा यही शुभकामना व्यक्त गर्दछु। धन्यवाद। नमस्कार।

(संसद सेवा दिवसकाे अवसरमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले ब्यक्त गर्नुभएको सम्वाेधन र विचार । )