गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत गाउँबस्तीको विकास निर्माणमा सरकार सक्रिय रहेको बताउनुभएको छ ।
नुवाकोटको बेलकोटगढी–१३ स्थित ढाडेफेदीमा आज पक्की पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले ठूला योजना कार्यान्वयनसहित जनचाहनाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै जनताको चाहनाअनुरुप पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा र रोजगार सिर्जनाका काममा केन्द्रीत रहेको बताउनुभयो । उहाँले भन्नभयो,“केन्द्र सरकारले नीति निर्माणका काम गर्नुपर्छ । प्रदेश तथा स्थानीय सरकारले जनताको नजिक रहेर जनचाहनाअनरुप विकासमा केन्द्रीत हुनुपर्ने आवश्यकता छ । मेरो नेतृत्वको सरकारले गाउँमुखी, न्याय, आय र विकासमुखी काम गर्ने दृढ सङ्कल्प लिएको छ । गरिबका सन्तानलाई निःशुल्क अध्ययनको प्रबन्ध मिलाउने, पछि परेका समुदायलाई प्राविधिक निःशुल्क शिक्षा दिएर स्वदेशमा नै रोजगार दिने लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ ।”
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको बदलिँदो राजनीतिक परिवेशपश्चात् गाउँको विकास र चेतनास्तर वृद्धि भए पनि रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकेको भन्दै अब त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने मुख्यमन्त्री बानियाँको जोड थियो ।




