लमजुङमा नेपाली कम्युनिस्ट पार्टीको एकता सभा सम्पन्न, दुई दर्जन बढी जेनजी युवा प्रवेश
नेपाली कम्युनिस्ट पार्टीको लमजुङ जिल्लास्तरिय एकता सभा बिहीबार सम्पन्न भएको छ ।
पार्टी एकताको सन्देश कार्यकर्तासम्म सम्प्रेषण गर्ने तथा भावनात्मक एकता सुदृढ गर्ने याेजना अनुरूप एकता सभा सम्पन्न गरिएको नेकपा माओवादी केन्द्रका साविक इन्चार्ज तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पारसमणी पाैडेलले जानकारी दिए ।
जिल्ला सदरमुकाम बेसिशहरस्थित हलमा सम्पन्न भएको एकता सभामा पार्टीका नेता तथा माओवादी केन्द्रका महासचिव देव गुरूङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

पारसमणी पाेडेलकाे अध्यक्षता तथा साविक नेकपा एकीकृत समाजवादीका नेता रामबाबु अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको एकता सन्देश सभामा केन्द्रीय सदस्यहरू राजु कार्की, विघटित प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मधु अधिकारी, लाल बहादुर गुरूङ, गिरेन्द्र अधिकारीलगायतका नेताहरू तथा प्रदेश कमिटि, जिल्ला कमिटी र पालिका कमटिका नेताहरूकाे सहभागीता रहेको थियाे ।
सभामा बाेल्दै प्रमुख अतिथि देव गुरूङले नेपाली कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी, परिवर्तनकामी तथा वामपन्थीहरूहरूकाे साझा पार्टी भएको बताएका थिए । उनलेे नेपाली कांग्रेस, नेकपा एमाले र रास्ववा बाहेकका दल र शक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा एकतावद्व हुने स्थिति विकास भएको बताएका थिए ।
साे अवसरमा ३० भन्दा बढी जेनजी युवाहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका माओवादी केन्द्रका जिल्ला सिव सुनिल सुनार अटलले बताए । नवप्रवेशी युवाहरूलाई प्रमुख अतिथिलगायतका अतिथिहरूले स्वागत गरेका थिए ।




