राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्षलगायतबाट उधौली पर्व, यमाेरी पुन्ही र धान्य पर्वकाे शुभकामना
किराँत समुदायको उधौली पर्व, नेवार समुदायकाे यमाेरी पुन्ही र धान्य पर्व समेत परेकाे छ । यी पर्वकाे अवसरमा राष्ट्र्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष र दलका नेताहरूले समेत शुभकामना दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताउनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उहाँले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताउनुभएको हो ।




