श्रीलंकामा चक्रवात, बाढीबाट १२३ काे ज्यान गयाे, आपतकालकाे घाेषणा
श्रीलंकाका राष्ट्रपति अनुराकुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका छन् ।
दित्वा चक्रावतपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै आपतकाल घाेषणा गरिएको हाे ।
चक्रवातका कारण श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।
विपद् व्यवस्थापन केन्द्रका महानिर्देशक सम्पत कोटुवेगोदाका अनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ भने ४३ हजार ९९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य सञ्चालित राहत केन्द्रमा सारिएको छ ।
भारी वर्षा सोमबारदेखि सुरु भएको थियो र बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ ।
शुक्रबार साँझ केलानी नदीको तटबन्ध भाँचिँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिनु परेको थियो ।
सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ, जहाँ हेलिकोप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाहरू उद्धार गरिएको छ ।
सन् २००० पछि श्रीलंकामा आएको सबैभन्दा ठूलो बाढी सन् २००३ को जूनमा भएको थियो । त्यसबेला २५४ जनाको मृत्यु भएको थियो ।




