गाउँशहर क्षेत्रको विकासका लागि सरोकारवालाहरुबीच गोलमेच बहस
लमजुङ जिल्लाकाे बेसीशहर नगरपालिका ३ गाउँशहरस्थित लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भावगत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत शनिबार सरोकारवालहरुबीच गोलमेच बहस गरिएको छ ।
गाउँशहर क्षेत्र साविक गाउँशहर गाविसको समग्र विकासका लागि गुरुयोजना निर्माण गर्न स्थानीय समस्या पहिचान, समस्या समाधानका उपाय र योजनाका खाकाहरु आदानप्रदान गर्ने उद्देश्यका साथ गोलमेच बहस गरिएको हो ।

लमजुङ माविका पूर्वविद्यार्थी समेत रहेका शहरी विकास तथा भवन विभागका महानिर्देशक रबिन्द्र बोहराको प्रमुख आतित्थ्यमा भएको गोलमेच सम्मलेनमा स्थानीय जनप्रतिनिधि, लमजुङ माविका पूर्वविद्यार्थी, सामाजिक अगुवा, वुद्धिजीवि, सञ्चारकर्मी र स्थानीय बासिन्दा सहभागिता रहेको थियो। कार्यक्रममा साविक गाउँशहर गाविसका अध्यक्ष राजेन्द्र बोहराले सहभागीलाई स्वागत गर्दै विषयवस्तु बारे प्रकाश पारेका थिए। गोलमेचमा स्थानीयबासीले गाउँशहर क्षेत्र सामाजिक, शैक्षिक, भौतिक, आर्थिक, ऐतिहासिक, धार्मिक, पर्यटकीय लगायतका विभिन्न क्षेत्रको विकासका दृष्टिले पछाडी परेको भन्दै विविध समस्याको उठान गरे। ऐतिहासिक र धार्मिक पक्षमा तुलनात्मक रुपले नेपालकै पुरानो महत्व बोकेको ठाउँ भएर पनि आफ्नो ठाउँको विकास हुन नसक्नुको पछाडी गाउँ छाड्ने र गाउँ विर्सिने अभ्यास नै प्रमुख भएको भन्दै गाउँशहर क्षेत्रका स्थानीयले दुखेसो पोखे।
सो अवसरमा लमजुङ कालिका युवाक्लवका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, युवा प्रतिनिधि कपिल थापा, आमासमुह प्रतिनिधि चिजामाया मजाकोटी, लमजुङ माविका अध्यक्ष कृष्णबहादुर देउजा, यशोब्रम्ह माविका अध्यक्ष तिलक दुलाल, काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङ, डाक्टर श्रीराम खड्का, इञ्जिनियर अमरबहादुर थापा, वडा नं ३ का पूर्वअध्यक्ष सुर्यकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष मदनबहादुर रानाले गाउँशहर क्षेत्रका विविध विकासको अवस्था, आवश्यकता, समस्या, चुनौती र समाधानका उपाय बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए। उनीहरुले बसाईसराईका कारण गाउँ रित्तिएको, स्थानीयबासीको पहुँच केन्द्रीय तहसम्म पुग्न नसकेको, तीनै तहका सरकारको नजरमा गाउँशहर क्षेत्र पर्न नसकेको जस्ता सवालहरुको उठान गर्नुका साथै समाधानका उपाय सुझाएका थिए।
विगत चारवर्ष देखि पुर्ननिर्माण भईरहेको लमजुङ दरबार र कालिका मन्दिरको काममा ढिलासुस्ती भईरहेको, गाउँघरमा सडक निर्माण र स्तरोन्तिको काम नहुँदा ऐतिहासिक, धार्मिक र पर्यटकीय विकासमा अवरोध उत्पन्न भएको विषयलाई उनीहरुले प्राथमिकताका साथ उठान गरेका थिए। सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानुका साथै विद्यालयका भौतिक संरचना समेत जीर्ण बन्दै गएकाले कसरी अघि बढ्ने भन्नेमा अन्यौलको वातावरण सिर्जना भएको पनि सहभागीले बताए। स्थानीयस्तरमा समस्या निकै भएको तर समाधानका लागि पहल र प्रयास गर्दा समेत नतिजामुखी ढंगले समन्वय हुन नसकिरहेको वडाध्यक्ष चित्रबहादुर दनाईले बताए। वडास्तरबाट गर्न सकिने भन्दा माथिल्लो रकमबाट काम गर्नुपर्ने भएकाले सम्बन्धित निकायमा पहल गरेकोमा अपेक्षा अनुरुपको सफलता नमिलेको उनले बताए। त्यसैगरि, शहरी विकास तथा भवन विभागका इञ्जिनियर रोशन श्रेष्ठ बाहिरबाट पैसा ल्याएर मात्रै गाउँको विकास नहुने बताउँदै स्थानीय आवश्यकता पहिचान गरि त्यसठाउँको भूगोल सुहाउँदो विकास गर्नुपर्ने बताए। गाउँशहर क्षेत्र विविध पक्षले अत्याधिक संभावना बोकेको स्थान भएकाले यहाँका संभावना चिनेर योजना निर्माण गर्न सके यहाँको समग्र विकासमा परिणाममुखी काम गर्न सकिने उनले बताए।
कार्यक्रममा प्रमुखअतिथि शहरी विकास तथा भवन विभागका महानिर्देशक रविन्द्र बोहराले समग्र विषयवस्तुको अध्ययन र समिक्षा गरि गुरुयोजना निर्माण गर्ने बताए। अहिले आफु बजेट प्रस्ताव गर्ने ठाउँमा पुगेको र गाउँशहर क्षेत्र वास्तवमै बेग्लै महत्व र गरिमा बोकेको स्थान भएकाले प्राथमिकता राखेर काम गर्ने प्रयास रहने बताए। समयसापेक्ष विकास हुन नसकेको र अहिले पनि निकै पछाडी परेको अनुभूति सरोकारवाला सबैमा भएकाले पनि प्राथमिकताका साथ सोच्नुपर्ने अवस्था रहेको पनि महानिर्देशक बोहराले बताए। गाउँशहरबासीले प्राप्त गरेको प्राकृतिक स्रोत र सम्पदाहरुको भरपुर उपयोग गर्न नसकेको उनले बताए। सामुदायिक शिक्षामा नयाँ-नयाँ समस्या थपिएकाले विद्यार्थीलाई सुविधा उपलव्ध गराई विद्यालयहरु व्यवस्थापन गरेर विद्यार्थी र शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने पनि धारणा पनि उनले व्यक्त गरे। वडा नं ३ का अधध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको सो कार्यक्रममा इञ्जिनियर किशोर थापाले सहजीकरण गरेका थिए।




