बाबुराम र जनार्दनको एकता मंसिर ७ गते, सन्तोष पनि सँगै
नेकपा माओवादी केन्द्र परित्याग गरी नयाँ अभियान शुरु गरेका जनार्दन शर्मा र संविधान जारी भएसँगै माओवादी र कम्युनिष्ट परित्याग गरेका डा. बाबुराम भट्टराईबीच एकता हुने भएको छ । उनीहरुसँगै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार पनि एकताबद्ध हुने भएका छन् ।
मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा हुने भएको छ ।
वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति) का प्रचार विभागले जानकारी दिएको छ । राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको बताएको छ ।
नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ । अतिथि क–कसलाई बोलाउने भन्नेबारे निर्णय लिन दिउँसो बैठक बस्ने गुरुङले बताए ।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ । तर निष्कर्षमा नपुगेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।




