विद्युत सर्टबाट बन्द भएको विमानस्थलकाे धावनमार्ग ४ घण्टापछि बल्ल सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विद्युत् सर्किट सर्ट भएपछि शनिबार राति ९:२० बजेसम्मका लागि विमानस्थल अस्थायी रूपमा बन्द गरिएकोमा शनिबार राति करिब चार घण्टापछि राति ९:३६ बजे पुनः खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, धावनमार्गसँग सम्बन्धित विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको छ । धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएपछि प्राविधिक टोलीले शनिबार दिउँसो ३:३० बजे मर्मत कार्य सुरु गरेको थियो र राति ९:३६ बजे सम्पन्न भएको हो ।
विमानस्थल पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुनः सुरु भएका छन् ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार वायुसेवा कम्पनीहरू र उड्डयनकर्मीहरूलाई जानकारी गराउन औपचारिक नोटाम जारी गरिएको थियाे । उनका भनाइअनुसार, विद्युत् सर्किटमा समस्या देखिएपछि प्राविधिक टोलीले साँझ ५ बजेदेखि सर्ट भएको स्थान पत्ता लगाउने प्रयास ४ घण्टा पछि बल्ल सम्भव भएको हाे ।
शनिबार दिउँसो करिब ४ बजेदेखि धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएको थियो । धावनमार्ग अन्धकार बनेपछि काठमाडौंबाट हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका थिए ।
विमानस्थलका अनुसार, दुबईबाट आएको फ्लाई दुबई सिमरामाथि होल्डमा बसेपछि फर्किएको थियाे । त्यस्तै, कोरियाबाट आएको कोरियन एयर दिल्ली डाइभर्ट गरिएको थियाे । जनकपुरबाट आएको बुद्ध एयरको विमान पनि सिमरामै फर्किएको थियाे ।





