पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न

मूलखबर संवाददाता
काठमाडौं

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा नपुगिने बताएका छन् ।

भर्खरै भिन्नाभिन्नै पार्टी फुटाएर र बनाएर अगाडि बढेका तीन नेताले अाज  संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनीहरूले भनेका छन्  -‘राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।

आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरुले बताएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ,‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’