एकताबारे झलनाथ खनालले राखे फरक मत
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव नेपालको विशेष प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेको छ।
तर, अध्यक्ष नेपालको विशेष प्रस्तावविरुद्ध सम्मानित नेता झलनाथ खनालले फरक मत पेस गरेका छन्। पार्टीभित्र फरक मत आउनु स्वाभाविक भए पनि अध्यक्ष नेपालको एकतासम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित भएको उपाध्यक्ष प्रकाश ज्वालाले बताए।
‘उहाँले अन्तिममा बोल्ने क्रममा मेरो मत दर्ज होस् भनेर एउटा अलग्गै राजनीतिक दस्ताबेजसहित मत राख्नुभयो। कुनै पनि नेताले बैठकमा मत दर्ज गर्ने कुरालाई पार्टीले सम्मान गर्छ। व्यक्तिगत रूपमा कसले बाहिर के भन्यो भन्दा पनि बैठकमा के भयो भन्ने कुरा महत्त्वपूर्ण हो,’ ज्वालाले पार्टी निर्णय सुनाउँदै सञ्चारकर्मीसँग भने।
९५ प्रतिशतले एकता आवश्यक र अपरिहार्य रहेको बताउँदै ज्वालाले भने, ‘एकताको विरोधमा कसैले बोल्नुभएन। कतिपयले हतार नगरौँ, बृहत् एकतातिर जान अरू पार्टीसँग पनि छलफल गरौँ भन्नुभएको हो। बैठकमा फरक मतका रूपमा अरूले राख्नुभएको छैन।’




