रास्वपाले आज बृहत् राजनीतिक संवाद आयोजना गर्ने

मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ।

लामो समयदेखि विद्यमान संसदीय अनुभवबाट दिक्क भई परिवर्तनको पक्षमा उभिएका ‘जेन-जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनपछि विकसित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण र दीर्घकालीन रूपान्तरणको लागि समान सोच र शैली भएका राजनीतिक दल, व्यक्ति, समूह तथा वृहत् राजनीतिक एलायन्सको गृहकार्य स्वरूप यो संवाद आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

संवादका मुख्य उद्देश्यहरू:

रास्वपाले यो वृहत् राजनीतिक संवादमार्फत देहायका तीन मुख्य उद्देश्य प्राप्त गर्न चाहेको उल्लेख गरेको छ:

१. आन्दोलनको उत्पत्ति र नतिजाबारे साझा बुझाइ: आन्दोलनको उत्पत्ति, नतिजा र आगामी सुधारका सन्देशबारे साझा बुझाइ स्थापित गर्ने।

२. वृहत् एकता र सहकार्यको रेखांकन: लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।

३. रणनीतिक साझेदारीको सम्भाव्यता: उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यतामाथि छलफल गर्ने।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस कार्यक्रममा सार्थकताका लागि जुर्मुराएका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नसुध्रिएका पुरानाको प्रतिनिधित्वबीच सार्थक सहकार्य हुँदा परिणामको ढोका खोलिने अपेक्षासहित विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि आमन्त्रण गरेको छ।