त्रिपक्षीय छलफलमा माओवादी केन्द्रले राखेका ५ बुँदे धारणा के थिए ?

मूलखबर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

अन्तरिम सरकारकी प्रधानमन्त्री शुसीला कार्कीको आह्वानमा बुधबार भएको त्रिपक्षीय छलफलमा नेकपा (माओवादी केन्द्र)ले  ५ बुँदामा चुनावकेन्द्रित धारणा राखेको छ।

सरकार, राजनीतिक दल र जेन्जीका विभिन्न समूहका प्रतिनिधिबीच भएको छलफलमा नेकपा (माओवादी केन्द्र)बाट नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, वर्षमान पुन ‘अनन्त’ र माधव सापकोटा ‘सुबोध’ सहभागी भएका थिए ।

नेकपा माओवादी केन्द्रले बैठकमा राखेका मुख्य विषयहरू

१. नेकपा (माओवादी केन्द्र)ले जेन्जीले राखेका मागलाई पहिले पनि समर्थन गरेको र अहिले पनि समर्थन गर्दै आइरहेको छ। अहिले पनि जेन्जीका मागमा हामी साथमै छौं।

२. अहिले राजनीतिक र संवैधानिक प्रक्रियाअनुसार नागरिक सरकार बनेको छ। हामीले सरकार गठनकै बेलामा संसद्बाट अनुमोदन गर्दा राम्रो हुन्छ भनेका थियौं, त्यसो भएन। अब चुनाव गरेर राजनीतिक प्रक्रियालाई संवैधानिक प्रक्रियामा ल्याउनुपर्छ। चुनावको अर्को विकल्प अहिले छैन।

३. संविधान बन्ने बेला नै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा संविधानमा असहमति नै राखेका थियौं। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई प्रमुख बनाएर हामी अब चुनावमा जान्छौं। जेन्जी र हाम्रा मागहरू एकै प्रकारका भएकाले सके हामी सहकार्य गर्छौं। त्यसो भएन भने पनि हामी मुद्दामा सँगै हुन्छौं।

४. जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायमलगायतका विषयमा सरकारले ध्यान दिनुपर्छ। सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि अहिले सकिने कामहरू गरोस्। हाम्रो पार्टीको साथ र सहयोग रहन्छ।

५. जेन्जी सँग राजनीतिक संवाद र सहमति गर्न हाम्रो पार्टी तयार छ। जेन्जीहरूले संविधान, लोकतन्त्र र चुनावप्रति गरेको प्रतिबद्धताप्रति हाम्रो पार्टी आभार व्यक्त गर्दछ।