सावधान ! मोन्था चक्रवातको कारण यी प्रदेशमा शुक्रबारसम्म भारी वर्षा हुँदैछ
बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको कारण नेपालमा फेरि भारी वर्षा हुने भएको छ । चक्रवातकाे प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।
बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हाे। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यो चक्रवातका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।
जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। त्यस्तै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ।
त्यसैगरी लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।
केही समय अगाडि दशैकाे आसपासमात्रै देशैभर एक हप्तासम्म ठूलो वर्षा र वाढीले क्षति पुर्याएकाे थियाे भने याे वर्षाले धेरै किसानहरूकाे धानबाली भित्र्याउने बेलामा समस्या बनाउने देखिएकाे छ ।





