जेनजीकाे मुद्दा पुरा गर्न हाम्रो पहल र जाेड हुनेछ -प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का संयाेजक पु्ष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका मुद्दा पूरा गर्न माओवादी केन्द्रकाे पहल र जोड हुने बताउनुभएको छ ।
माओवादी केन्द्रद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा पुगेका प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा आफुहरूले ०७२ सालदेखि नै उठाइरहेको बताउनुभयाे । जेनजी आन्दोलन र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै प्रचण्डले पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट पार्नुभएकाे हाे ।
उहाँले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै प्रचण्डले भन्नुभयाे- “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।”
चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयाे- “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”
त्यस्तै उहाँले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको पनि बताउनुभयो । प्रचण्डको भनाइ थियाे- “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।”
जेन–जि पुस्तासँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो- “अब जेन–जि युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ।”
प्रचण्डले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गर्दै भन्नुभयो,- “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।”
कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भन्नुभयो,- “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”




