जेनजी आन्दोलन असर : अझै ५ हजार कैदीबन्दी फरार, अब तस्बिर प्रकाशित गरिने

मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक ।

जेनजी आन्दोलन भएको १ महिना र दुई हप्ता भइसकेको छ । तर जेन जी आन्दोलनबीच फरार भएका ५ हजार कैदी बन्दी अझै जेलमा फर्किएका छैनन् । सबै कैदीबन्दीलाई फर्काउने प्रयास जारी राखेको भन्दै कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीले उनीहरूका तस्बिर प्रकाशित गर्ने विकल्पमा पनि जाने योजना बनाएको बताइएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आउँदा दिनमा सबै ठाउँमा सम्भव नभए पनि निश्चित स्थानमा कैदीबन्दीका तस्बिर प्रकाशित गरिने बताएका हुन्।

त्यसरी सार्वजनिक स्थलमा कैदीबन्दीका तस्बिर टाँसिएमा पहिचान गर्न र पक्राउका लागि सुरक्षाकर्मीलाई खबर गर्न सर्वसाधारणलाई समेत सहज हुने एक भूतपूर्व प्रहरी नायब महानिरीक्षकले बताएको बीबीसीले जनाएको छ।
कारागार व्यवस्थापन विभागका साथै सबै जिल्ला प्रशासन कार्यालयहरूका वेबसाइटमार्फत्‌ फरार कैदीबन्दीहरूको नामावली प्रकाशित गरिएको छ।

विभागले त्यस्तो नामावली अध्यागमन विभागदेखि धेरै भिडभाड हुने सार्वजनिक सेवा दिने स्थलहरूसम्ममा पठाइएको जनाएको छ।