जेनजी आन्दोलनमा मालपोतमा कागजपत्र जलेका घरजग्गाधनीहरूकाे स्रेस्ता कायम कसरी ?
जेन जी आन्दोलनका क्रममा मालपोत कार्यलय आगजनीमा कार्यलयमा रहेका सबै कागजात नष्ट भएका छन् ।
देशका विभिन्न स्थानका मालपोत कार्यालयहरूमा क्षति पुगेसँगै हजारौँको सङ्ख्यामा लालपुर्जाको ढड्डासहितका कागजपत्र र अभिलेखहरू ध्वस्त भएका थिए।
आगजनी भएका मालपोत कार्यालयहरूमा स्रेस्ता कायम गर्न घरजग्गाधनीले ‘थुप्रै कागजात जुटाउनुपर्ने” सुचना मालपाेत कार्यलयहरूले निकालेका छन् । धेरै कागजात र प्रमाण जुटाउनुपर्ने व्यवस्थाको व्यापक आलोचना भएपछि भूमि व्यवस्था मन्त्रालयले नीतिगत निर्णयमार्फत् “छरितो व्यवस्था गरिएको” जनाएको छ। विशेषगरी कलंकी मालपोत कार्यलयले त्यस्ताे सुचना जारी गरेको थियाे ।
“कलङ्कीको मालपोल कार्यालयले सूचना जारी गर्नुअगावै विभागले स्रेस्ता कायम गर्ने कार्यलाई सहज बनाउन पहल थालिसकेको थियो,” विभागका प्रवक्ता खिमानन्द आचार्यले भने, “अहिले अन्य स्थानका कार्यालयलाई त्यस्तो प्रकृतिको सूचना जारी नगर्न सूचित गरिसकेका छौँ।”
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता खिमानन्द आचार्यका अनुसार सबै स्रेस्ता कायम गर्न झन्डै पाँच वर्ष लाग्न सक्छ।
“आन्दोलनमा आगजनीमा परेका कारण सेवा रोकेका सबै कार्यालयहरूले आइतवारबाट सेवा दिन थाल्छन्,” उनले भने, “तर हजारौँको सङ्ख्यामा कागजपत्रहरू जलेकाले कार्यालयले काम थालेर मात्रै पनि भएन किनभने कतिपय घरजग्गाधनीहरू विदेशमा होलान्। त्यसले गर्दा सबै स्रेस्ताहरू पूर्ववत् अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ।”
आचार्यका अनुसार देशभरका विभिन्न १० वटा मालपोत कार्यालयहरूमा व्यापक क्षति पुगेको छ भने अन्य ११/१२ वटामा आंशिक क्षति पुगेको छ।
“चितवनको भरतपुर, काठ्माण्डूको कलङ्की, कास्कीको पोखरा तथा दाङको घोराही र तुलसीपुर लगायतका स्थानमा धेरै क्षति छ,” आचार्यले भने, “क्षतिको सबै विवरण अझै पनि यकिन भइसकेको छैन।”
भुमि व्यवस्था मन्त्रालयले पछिल्लोपटक सुचना जारी गरी स्रेस्ता कायमबारे नयाँ व्यवस्था गरिएको बताएको छ ।
मन्त्रालयले गरेको निर्णयानुसार “व्यक्तिसँग भएको पुर्जा भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीसँग भिडेमा अरू केही पनि नचाहिने र त्यसैका आधारमा (स्रेस्ता कायम) हुने” मन्त्रालयका सचिवले बताए।
“मानौँ मेरो घर कीर्तिपुर हो, मसँग लालपुर्जा छ। तर कलङ्कीको कार्यालयमा स्रेस्ता जलेकाले त्यहाँ केही पनि छैन,” सचिव शर्माले भने, “यस्तोमा म आफैँ लालपुर्जा लिएर मालपोत कार्यालयमा गएँ र त्यो त्यहाँको डिजिटल प्रणालीमा भिड्यो भने अरू केही पनि चाहिँदैन।”
“भिडेन भने डीएमएस अर्थात् डक्युमन्ट म्यानेज्मन्ट सिस्टम भन्ने हुन्छ, त्यसमा पनि भिड्दै भिडेन भने चाहिँ अन्तिममा सर्जमिनसम्मका प्रक्रिया हुन्छन् तर सुरुमा धेरै सजिलो हुने गरी व्यवस्था मिलाएका छौँ।”





