मेयर रेनु दाहालको पहलमा बनेको तटबन्धनले भरतपुरलाई सुरक्षित बनायो

राजेन्द्र आचार्य
भरतपुर, २१ असाेज

नारायणी नदी किनारमा निर्माण गरिएको तटबन्धनले यस वर्षको मनसुनमा भरतपुर क्षेत्रलाई डुबानको ठूलो जोखिमबाट जोगाएको छ। भरतपुरकी मेयर रेनु दाहालको अगुवाइमा निर्माण गरिएको नारायणी तटबन्धन परियोजनाले भरतपुर महानगरलाई डुबानको जोखिमबाट सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याएको हो ।

निरन्तर वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएको अवस्थामा पनि तटबन्धनले बस्तीहरू सुरक्षित राख्न मद्दत पुर्‍याएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

विगतमा नारायणी नदीले वर्षायाममा धेरै ठाउँमा डुबान ल्याउने गर्थ्यो, जसले करिब ६ हजार ६ सय ६५ घरधुरी र ३३ हजारभन्दा बढी जनसंख्यालाई उच्च जोखिममा पार्थ्यो। तर अहिले, बर्खाको समयमा पनि भरतपुर सुरक्षित रहँदै आएको छ। चितवनको भरतपुर महानगरपालिका अन्तर्गत पर्ने तटीय बस्तीहरू विगत वर्षहरूमा डुबानको मुख्य चपेटामा पर्ने गरेका थिए। तर, सरकार र स्थानीय तहको सहकार्यमा निर्माण गरिएको मजबुत तटबन्धन प्रणालीले यस वर्ष डुबानको असर न्यून बनाएको भरतपुरका प्रमुख रेनु दाहालले जानकारी दिइन्।
“नदी नियन्त्रणका लागि समयमै काम भएको र तटबन्धन सुदृढ गरिएकोले यस पटक डुबानको जोखिम न्यूनीकरण भएको हो,” प्रमुख दाहालले भनिन्।

स्थानीय बासिन्दाहरूले मेयर दाहालको सक्रियता र दूरदर्शिताको प्रशंसा गर्दै तटबन्ध निर्माणलाई एक महत्वपूर्ण उपलब्धि मानेका छन्। उनीहरू भन्छन्, “नारायणी तटबन्ध निर्माण गर्ने मेयर रेनु दाहाललाई धेरै धन्यवाद। अब हाम्रा घर र बस्ती सुरक्षित छन्।”

भरतपुर महानगरपालिकाले आगामी दिनहरूमा थप वातावरणमैत्री र दीर्घकालीन समाधानहरूमा काम गर्ने प्रतिबद्धता जनाएको छ। तटबन्धन निर्माणका लागि सरकारको तर्फबाट झण्डै ५ अर्ब वजेट बनाई बहु बर्षिय योजनाको रूपमा लगानी गरिएको थियो। यसले न केवल डुबान नियन्त्रणमा सहयोग पुर्‍याएको छ, तर स्थानीय बासिन्दाको जनधनको सुरक्षामा पनि ठुलो भूमिका खेलेको छ।

स्थानीय किसानहरूले पनि तटबन्धनको प्रभावका कारण अघिल्ला वर्षहरूमा जस्तो बालीनालीमा क्षति नहुनुमा राहत महसुस गरेका छन्।

अब स्थानीय सरकार तटबन्धनको नियमित मर्मत सम्भार र निगरानीलाई प्राथमिकतामा राख्ने योजना बनाउँदैछ, ताकि दीर्घकालीन रुपमा डुबानको जोखिमलाई न्यून पार्न सकियोस्।