काठमाडौं र ललितपुरमा सार्वजनिक विदा खारेज
काठमाण्डौ र ललितपुर प्रशासनले आजको सार्वजनिक बिदा खारेज गरेका छन् । दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आजका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र पालिकाहरु सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
शुक्रवार र शनिवारको लगातारको वर्षाका कारण सरकारले हिजो र आज सार्वजनिक बिदा घोषणा गरेको थियो । तर मौसममा सुधार आएपछि केही जिल्ला प्रशासनहरुले आजको बिदा खारेज गरेका हुन् ।
हिजो गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयहरुबाट नयाँ निर्णय भएको हो ।





