निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन

मूलखबर संवाददाता
मनाङ, २० भदाै

प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्र्वाटरको निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उहाँले बताउनुभयो ।

निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा सिडिओ पौडेलले निर्वाचनमा शान्ति कायम गर्न र मतदाताको मनोबल उच्च राख्नका लागि निरन्तर लाग्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले आसन्न मनाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) उपनिर्वाचनका लागि सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, उहाँले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागुपदार्थ न्यूनीकरण, आइसिटीको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारी अनुशासित, व्यावसायिक र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ थियो ।

प्रजिअ पौडेलले सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्मको पनि निरीक्षण गर्नुभएको छ । निरीक्षणमा प्रशासन, तालिम, सञ्चार, आर्थिक प्रशासन, कार्य÷सीमा शाखा, ब्यारेक र अन्य संरचना अवलोकन गर्नुभएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेसनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा जिल्ला अधिकारी पौडेलले सशस्त्र प्रहरीको कार्य अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको मूल्याङ्कन गर्दै आसन्न उपनिर्वाचन सुरक्षामा प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गर्नुभएको थियो ।