उखु किसानकाे आन्दोलनमा माओवादी एक्यवद्धता, मन्त्रीलाई झण्डा मात्रै हल्लाएर नहिँड्न चेतावनी
पटक पटक सहमति गर्ने तर लागु नगर्ने सरकारी रबैयाले हैरान भएका उखु किसानहरूको आन्दोलनमा नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ ।
माइतीघरमा आन्दोलनरत रहेका उखु किसानकाे आन्दोलनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेता तथा सांसदहरू मंगलबार किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
उखु उत्पादक महासंघ नेपालको अगुवाईमा काठमाडौँको माइतीघरमा भइरहेको उखु किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै उनले यस्तो माग गरेका हुन्।
उनले कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गरे।
किसानले उखुमा पाउँदै आएको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानलाई निन्तरता दिने घोषणा गरेर तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि सरकारसंग माग गरे।
उनले उखुको न्युनतम मूल्य पनि वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै त्यतातिर पनि ध्यान दिन सरकारको विशेष ध्यानाकर्षण गराए।
उनले उखु किसानले कहिले उचित मूल्य र भुक्तानीको लागि कारखाना मालिकसँग संघर्ष गर्नुपर्ने, कहिले पाइरहेको अनुदानका लागि सरकारसँग संघर्ष गर्नुपर्ने स्थिति सिर्जना हुनु पीडादायी भएको बताए।
उखु किसानको आन्दोलनमा नेकपा माओवादी केन्द्र सधैँ किसानको पक्षमा रहेको पनि उनले जानकारी दिए।
त्यसैगरी प्रतिनिधि सभा सदस्य मिना तामाङले सरकारले किसान र कृषि पेशालाई अपमान र अवमूल्यन गरेकाे बताउँदै तत्काल उखु किसानकाे माग पुरा गर्न सरकारलाई आग्रह गरिन् । उनलेे कृषि समिति, संसदमा पटकपटक आफुहरूले उखु किसानकाे समस्या राखिरहेकाे भएतापनि सरकार र कृषि मन्त्रीले वेवास्ता गरेको आराेप लगाइन् ।
उनले मन्त्री भएर झण्डामात्रै हल्लाएर नहिँड्न मन्त्रीलाई चेतावनी दिँदै भनिन्- मन्त्रीहरू झण्डा मात्रै हल्लाएर हिँड्ने हाेइन किसानका माग पुरा गर । उनलेे आफु र आफ्नो पार्टी माओवादी सदैब उखु किसानकाे पक्षमा रहेकाे बताइन् ।





